कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव


७ माघ २०७९, शनिबार


काठमाडौँ । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

शुक्रबार कम्बोडियाबाट काठमाडौँ आइपुगेको उनको शव आज दिउँसो १२:३० बजेतिर बिर्तामोडस्थित निवासमा ल्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको शव निवासमा आइपुग्ने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।

‘एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ’, स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्छन्, ‘आज सिङ्गो बिर्तामोड स्तब्ध भएको छ ।’ मृतक पाण्डे बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा छन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ ।

घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । आजै कनकाई माईमा स्व। पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस