पाइलटमाथि कुटपिट गर्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक सङ्घको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाइलटमाथि कुटपिट गर्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक सङ्घको माग


५ माघ २०७९, बिहिबार


काठमाडौँ । स्याङ्जाको वालिङमा हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक सङ्घले माग गरेको छ ।

प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टर बिहीबार दिउँसो पोखराबाट उडेर स्याङ्जामा २ः२४ मा अवतरण गरेको थियो । यात्रुले दिएको जिपिएस कोर्डिनेट अनुसार हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डङ्गोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको सङ्घले जनाएको छ ।

वायुसेवा सञ्चालक सङ्घले उक्त कार्यको भर्त्सना गरेको छ । जिउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको सङ्घको भनाइ छ ।

बिहीबार भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन समेत सङ्घले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस