पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो


४ माघ २०७९, बुधबार


काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजी कार्य भइरहेको बताए । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटना स्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

‘सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लगाउने काम भइरहेको छ’, उनले भने। ६८ यात्रसहित चार चालक दलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस