चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग


३० पुस २०७९, शनिबार


काठमाडौँ । यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन् । शुक्रबार काठमाडौँमा भएको कार्यक्रममा व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुने व्यवस्था कार्यान्वयन नगर्न माग गरेका हुन् । २०७६ सालदेखिको रेकर्ड हेरी ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चलाक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था यही पुस १ गतेदेखि लागू भएको हो ।

महानगर यातायात प्रा.लि. वनस्थली र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयुक्त आयोजनामा भएको चालक र सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालले लाइसेन्स निलम्बनको व्यवस्था अति नै अन्यायपूर्ण र अव्यवहारिक भएको बताए । उनले सार्वजनिक यातायातमा चालक अभाव भइरहेको तथा बस खाली बस्नुपरेको भन्दै ५ पटकभन्दा बढी गल्ती गर्दा हुने कारबाही र ६ महिनाको निलम्बन कुनै पनि हालतमा सही नभएको टिप्पणी गरे ।

कार्यक्रममा महानगर यातायात प्रा.लि.का वरिष्ठ सल्लाहकार धर्मराज रिमालले गम्भीर कसुरमा उचित कारबाही गर्न सकिने तर गल्ती गनेर लाइसेन्स निलम्बन गर्ने कार्य उपयुक्त नभएको बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियमको पूर्ण पालनाले मात्रै दुर्घटना कम गर्न सकिने भएकाले सडक र यातायातको प्रयोगमा चालक जिम्मेवार बन्नुपर्ने बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी उपरीक्षक अवधेश विष्ट क्षेत्रीले ट्राफिक प्रहरीको कार्य र जिम्मेवारी जानकारी नभएर सबैभन्दा बढी गाली ट्राफिक प्रहरीलाई गर्ने गरिएको भन्दै मैत्रीपूर्ण व्यवहार नगर्ने र गल्ती गर्ने प्रहरीबारे उजुरी गर्न अनुरोध गरे ।

महानगर यातायात प्रा.लिका अध्यक्ष मधुसूदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक नियम र कसुर सम्बन्धी व्यवस्थाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको टोली, अधिवक्ता मनिषकुमार श्रेष्ठ, सिप्रदी ट्रेडिङका तालिम शाखा प्रमुख दिपेश पौडेल, एमएस एण्ड हस्पिटालिटीका प्रमुख सिंहबहादुर मोक्तान लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा महानगर यातायात प्रा.लि.ले चालक र सहचालकलाई कार्यमूल्यांकन गरी नगदसहित प्रशंशापत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

महानगर यातायात प्रा.लि.ले विज्ञप्ति नै जारी गरेर लाइसेन्स खारेजसम्बन्धी व्यवस्थाको कार्यान्वयन तत्काल स्थगित गर्न माग गरेको छ । संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले गर्न पाउने अधिकतम १५ सय रुपैयाँको जरिवाना र ५ पटकभन्दा बढी कसुरमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्का परेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस