निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगन्जबाट काठमाडौँ आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् । तर उनीहरूले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् ।

उनीहरूले गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । आन्दोलनरत महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना तेलीसहित पाँच महिलाले मन्त्रालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका थिए ।

‘निर्मला कुर्मीको न्यायका लागि आन्दोलन भएको एक वर्ष पूरा भयो । यसबीचमा सरकारसँग दुई पटक महत्त्वपूर्ण वार्ता र सहमति भए पनि मुद्दा अहिलेसम्म अदालतमा पुगेकै छैन,’ उनीहरूले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘छानबिन समितिको प्रतिवेदनअनुसार अहिलेसम्म मुद्दा अदालतमा पुगिसक्नुपर्ने थियो ।’

उनीहरूले तेस्रो चरणमा १६ दिनदेखि निरन्तर सङ्घर्ष गर्दा समेत सरकारले आफूहरूका मागको सुनुवाइ नगरेको भन्दै गुनासो गरेका छन् । ‘सरकारले पटक-पटक वार्ता र अनुसन्धान गर्ने नाउँमा त्रुटिपूर्ण अनुसन्धान गरी मुख्य अभियुक्त बादशाह कुर्मीसहितका अभियुक्तहरूलाई जोगाउने र पीडितका तर्फबाट न्यायका लागि वकालत गरिरहेकाहरूलाई तोडमोड गरेर सूचना प्रवाह गर्ने काम भइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

उनीहरूले अहिलेसम्मको अनुसन्धानबाट मुख्य अभियुक्त बादशाह कुर्मीलाई जोगाउन प्रमाणहरू नष्ट गर्ने गरी अनुसन्धान भएको समेत गुनासो गरेका छन् । सरकारले बनाएको छानबिन समितिका आधारमा मुद्दामा आरोपित कुर्मीसहित आठ जना हाजिरी जमानीमा छुटेका छन् । अहिले सो मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

आन्दोलनमा उत्रिएका महिलाहरूले भने मुद्दालाई कम्तीमा अदालतमा पुर्‍याउन र आन्दोलनकारीहरूको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । त्यस्तै, निर्मला कुर्मीको घटनामा न्यायिक आयोग गठन गर्न र सो आयोगमार्फत उनको सम्पत्तिका कारोबारका तमसुकको सहीछाप परीक्षण गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस