जापानी टोलीले गर्‍यो प्रचण्ड, देउवा र पौडेलसँग भेट  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानी टोलीले गर्‍यो प्रचण्ड, देउवा र पौडेलसँग भेट 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाजीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ नेताहरूसँग भेट गरेको छ ।

नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो । उक्त भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रूपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए । जापान सरकारसँगै जाइका लगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्त्वपूर्ण हुने बताए । नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाइएको जानकारी दिँदै प्रधानमन्त्रीले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरे ।

गतवर्ष आफूले जापानको भ्रमण गर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावित बनेको भन्दै प्रचण्डले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकास गर्न चाहेको बताए । जापानमा वैज्ञानिक रूपमा गरिएको कृषि खेतीबाट आफू निकै प्रभावित बनेको दाहालको भनाई थियो ।

यस्तै दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरेका थिए ।

सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, स्पेसलगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । यही जिम्मेवारी देखेर प्रधानमन्त्री दाहालले उनलाई नेपालको मेनपावर धेरै लैजाने व्यवस्था गर्न आग्रह गरेका हुन् । सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूर्ण रूपमा प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको जानकारी दिए । ‘म आफै ४ पटक निर्वाचन

लडेर आएको व्यक्ति हुँ,’ प्रधानमन्त्री दाहालले भने ‘ हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै । हामी प्रो नेपाली मात्र हौँ ’।

प्रधानमन्त्री दाहालले आफूले ९९ प्रतिशत भन्दा बढी संसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिँदै आफूलाई जापानबाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए ।

त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानी आउन सक्ने आफूले देखेको जानकारी गराएका थिए । उनले आगामी दिनमा ग्रीन इनर्जिमा जानुको विकल्प नभएको भन्दै यसका लागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै संसद्को सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए ।

देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भूकम्प, बाढी पहिरोलगायतका दैविक प्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए ।

सभापति देउवाले पछिल्ला वर्षहरूमा बिग्रँदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरु गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनीकरणमा जापानको सहयोग आवश्यक रहेको बताए ।

त्यस अवसरमा जापानी सांसद मासाकीले आफूले नेपालमा जलस्रोतको विकासको उच्च सम्भावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए । नेपालमा उत्पादित बिजुली भारत र बङ्गलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदा पुग्ने उनको धारणा थियो ।

सांसद मासाकीको टोलीले शुक्रबार नै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो । उक्त भेटमा मासाकीले नेपालको छिमेकी मुलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो ब्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए । उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए । त्यस अवसरमा अर्थमन्त्री पौडेलले विकास आयोजनाहरूमा स्रोत अभाव रहेको जानकारी दिँदै जापानको सस्तो दरको ऋण सहयोग लिन आफूले तत्काल पहल गर्ने बताएका थिए ।

यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउने जानकारी दिँदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोग गर्न आग्रह गरेका थिए ।

यस्तै टोलीले बिहीबार दुई पूर्व प्रधानमन्त्री केपी शर्माओली र माधवकुमार नेपालसँग भेट गरेको थियो । जापानी टोली गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस