सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया आज पनि स्थगित  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया आज पनि स्थगित 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो ।

यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमतप्राप्त नगरेपछि आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । आज बिहानैदेखि बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन गरिएको हो ।

प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहीबारको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने छुट्टाछुट्टै रूपमा दुई प्रस्ताव पेस भएको थियो तर मत विभाजन गर्दा बहुमत सदस्य सङ्ख्या नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो ।

सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली काँग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी उम्मेदवार छन् । रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी काँग्रेसका मेघराज खड्का प्रस्तावक र काँग्रेसकै पृथ्वीबहादुर सिंह समर्थक रहेको प्रस्तावमा ‘हुन्न’ भन्ने पक्षमा २७ मत र ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो ।

यसैगरी भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बम प्रस्तावक र माओवादी केन्द्रीकी गीतादेवी माल समर्थक रहेको अर्को प्रस्तावको ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो ।

मत विभाजनमा ५० जनाले भाग लिएकोमा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस