गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज शुक्रबार विश्वासको मत लिने भएका छन्।

गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये चार दलको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त अधिकारीले नियुक्त भएको पाँचौँ दिनमा विश्वासको मत लिन लागेका हुन्। यसअघि मुख्यमन्त्रीले मङ्गलवार विश्वासको मत लिन आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिने र त्यसलाई कार्यसूचीमा राख्ने ब्यहोराको पत्र मङ्गलवार नै सचिवालयमा पठाएका थिए । मुख्यमन्त्रीको पत्र सचिवालयले दर्ता गरी सदस्यहरूलाई मङ्गलवारै त्यसको जानकारी दिइएको सुवेदीले बताए।

अधिकारीलाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसरी नियुक्त मुख्यमन्त्रीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारी ६० सदस्यीय प्रदेश सभाका ३३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सदस्य रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस