मन्त्रिपरिषद् विस्तारको तयारी : एमालेले ८ मन्त्री पाउँदा माओवादी ४ र रास्वपालाई थप ३ मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् विस्तारको तयारी : एमालेले ८ मन्त्री पाउँदा माओवादी ४ र रास्वपालाई थप ३ मन्त्रालय


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँटबारे मोटामोटी सहमति भएको छ ।  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएका छलफलपछि मन्त्रालयको भागबन्डामा मोटामोटी सहमति भएको बताइएको छ । 

सरकार विस्तारमा सकस देखिएसँगै बुधबार साँझ प्रचण्ड बालकोट पुगेका थिए भने बिहीबार अपराह्न ओली बालुवाटार गएका थिए । 

सत्ता साझेदार सबभन्दा ठुलो दल नेकपा एमालेले जम्मा ८ मन्त्रालय पाउने भएको छ । उपप्रधानसहित अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षासहित, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिने सहमति भएको छ । 

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा यातायात बाहेक थप ४ मन्त्रालय पाउने भएको छ । प्रचण्ड सरकारमा नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् । माओवादीले सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र लगायतका मन्त्रालय लिने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शहरी विकास र श्रम गरी थप ३ मन्त्रालय पाउने सहमति भएको बताइएको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय लिइसकेका छन् । 

सरकारलाई शुरुमै समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपप्रधान र ऊर्जा मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । सुरुमा सरकारबाहिरबाट समर्थन गर्ने बताएको राप्रपाले पछि सरकारमा सहभागी हुने प्रतिबद्धता जनाएको थियो । 

यसैगरी जसपालाई दुई मन्त्रालय र एक राज्यमन्त्री तथा लोसपालाई एक मन्त्रालय दिन माओवादी र एमाले सहमत भएका छन् । जसपाको दाबी कृषि मन्त्रालयमा रहेको छ । 

माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा आउन तयार भए रोजेको एक मन्त्रालय दिने सकिनेबारे ओली र प्रचण्डबीच कुराकानी भएको स्रोतले बताएको छ । 

सम्भवतः आज(शुक्रवार) नभए ढिलोमा माघ २ गतेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरुबीच छलफल भएको छ । माघ ५ गते हुने सभामुख निर्वाचनका लागि माघ ३ गतेदेखि प्रक्रिया सुरु हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस