चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णय


२३ पुस २०७९, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ ।

हिजो शुक्रवार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा।डा पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ ।

समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्य तालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले मिति तय गरेको हो । त्रिविले स्ववियु चुनावका बारेमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डिन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो ।

त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु चुनाव हुन सकेको छैन । हरेक दुई/दुई वर्षमा हुने चुनाव २०६५ सालयता नियमित हुन नसकेको हो । २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

त्यति बेला देशैभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु चुनाव भएको थियो । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु चुनावका लागि २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस