गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प 


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन । पछिल्लो समय आन्तरिक उडानहरू पनि रोकिएपछि पर्यटन व्यवसायीहरू निराश भएका छन् । 

गत जेठ २ गते अन्तर्राष्ट्रिय उडान उद्घाटनसँगै उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हालै हुस्सुको कारण देखाउँदै उडान रोकेको हो । त्यस्तै हिमालयन एयरलाइन्सले गत कात्तिक १७ देखि सुरु गरेको चार्टर उडान अहिले रोकेको छ ।

हुस्सुलाई कारण देखाए पनि यो विमानस्थलमा जडान गरिएको उपकरण अवतरण प्रणाली (इन्स्टु«मेन्ट ल्याण्डिङ सिस्टम) सञ्चालनमा नआउँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जजिराले १८ डिसेम्बरदेखि उडान स्थगित गरेको जनाए । हिमालयन एयरलाइन्सले २० डिसेम्बरदेखि भैरहवाबाट गर्ने भनेको चार्टर उडान फिर्ता लगेको उनको भनाइ छ ।

यो विमानस्थल २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटनसँगै जजिराले सुरुमा सातामा तीन दिन उडान भरेको थियो । त्यसपछि यात्रु संख्या बढ्ने अपेक्षा सहित उसले केही समय दैनिक उडान सुरु गरे पनि यात्रु नपाएपछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो ।

अर्कोतिर आइएलएस रेडियो नेभिगेसन प्रणाली जडान भए पनि उडान गर्दा केही भारतीय भूमि पर्ने भएकाले भारतबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लेटर अझै नेपाल सरकारले ल्याएको छैन । त्यस कारणले पनि अहिले अन्तर्राष्ट्रिय उडान रोक्नु परेको बताइएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार हवाई उडानका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर जाडो मौसम सुरु भएसँगै भैरहवाको भिजिबिलिटी ५/६ सय मिटरमा झर्ने गरेको छ । विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि विमानहरू उडान-अवतरण गर्न सकियोस् भनेर क्याटोगरी-१ को आइएलएस जडान गरिएको छ । 

सामान्यतया यो सिस्टममा ८ सय मिटर वा केही कम भिजिबिलिटी हुँदा पनि विमान उडान/अवतरण गर्न सकिने बताइएको छ । तर विमानस्थल उद्घाटन भएको महिनौँ बित्दा पनि अवतरण प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । विमानस्थलका महाप्रबन्धक दाहालले भारतको स्वीकृति लिनु पर्ने अवस्थामा माथिल्लो निकायबाटै पहल गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस