ब्राउनसुगरसहित चार जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ब्राउनसुगरसहित चार जना पक्राउ


२० पुस २०७९, बुधबार


बनियानी । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका-१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई-५ का २२ वर्षीय गौरव चुडाल र कनकाई-४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको थियो ।

त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ स्थित भट्टराई चोकमा पैदल हिँडिरहेका सोही स्थानका २८ वर्षीय दिलीप लिम्बूलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट एक ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

यसैगरी झापा गाउँपालिका-४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका-७ का २३ वर्षीय वामदेव मिश्रको साथबाट ब्राउनसुगर बरामद गरेको थियो । शङ्कास्पद अवस्थामा देखिएका उनलाई जाँच गर्दा तीन ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेकोे जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस