जसपा र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने तयारी


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयमा बहस सुरु भएको छ । जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल चलिरहेको छ ।

जसपाको राजनीतिक समितिको मङ्गलवारको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताए ।

सोमबार एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पत्रकारहरूसँग कुरा गर्दै जसपा सँग पार्टी एकताबारे छलफल चलिरहेको सङ्केत गरेका थिए ।

माधव नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । उक्त पार्टी २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

यदि एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस