३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली वस्तु निर्यात « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली वस्तु निर्यात


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । 

मङ्गलवार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मङ्गलवार करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ता चप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैँचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस