मेयरसँगको विवादबारे वडाध्यक्ष र कार्यपालिका सदस्यले गरे पत्रकार सम्मेलन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेयरसँगको विवादबारे वडाध्यक्ष र कार्यपालिका सदस्यले गरे पत्रकार सम्मेलन 


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मेयर हर्कराज साम्पाङ राईसँगको विवादले लगातार ३ पटक कार्यपालिका बैठक बस्न नसकेपछि धरानका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका छन्।

धरान उपमहानगरपालिका परिसरमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले बिहीबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरङ्कुश, स्वेच्छाचारी र अराजक बन्दै गएको आरोप लगाएका छन्। उनीहरूले नगर प्रमुख साम्पाङको कार्यशैली परिवर्तन गरेर म नभै हामी भन्ने भावना अनुरूप धरानको विकास गर्न एकताबद्ध रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न पनि माग गरेका छन्।

त्यसअघि, बिहान ८ बजे कार्यपालिका बैठक बोलाइएको थियो। उक्त बैठकमा ४ जना मात्र कार्यपालिका सदस्यहरू आएर मेयरले विगतमा कार्यपालिका सदस्यलाई बाहिर जानु भनेर दिएको अभिव्यक्ति फिर्ता लिने वा माफी नमागेसम्म बैठक नहुने बताएका थिए। यो विवादले कार्यपालिका बैठक लगातार ३ पटक स्थगित भइसकेको छ।

वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई ९मनोज०ले नगर प्रमुखले आत्मालोचना गरेर बैठक सुचारु गर्न माग गर्दा पनि आत्मालोचना नगर्ने भनेर स्वेच्छाचारी प्रवृत्ति देखाएकोले स्थगित भएको बताए। नेतृत्वको हैसियतमा पनि मेयर साम्पाङले बैठक सुचारु गर्न सहजीकरण गर्न पहल नगरेको र अराजक प्रवृत्ति देखाएकोले बैठक हुन नसकेको पनि भट्टराईले बताए।

मेयर साम्पाङले कार्यपालिका बैठक सुचारु गर्न सहजीकरण नगरी तोक आदेशको भरमा नगर सञ्चालन गर्छु भन्ने गैरजिम्मेवारीपुर्ण अभिव्यक्ति दिएको पनि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले बताएका छन्। साथै, मेयर साम्पाङले गैर संवैधानिक र गैर कानुनीरुपमा तोक आदेशकै आधारमा काम गरिरहेको पनि उनीहरूले दाबी गरेका छन्। वडाध्यक्षहरूले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा मेयर साम्पाङले रोक लगाएको जिकिर गरेका छन्। यस्तै, औद्योगिक ग्राम निर्माणको प्रक्रिया अघि बढाउने कार्यपालिकाबाट निर्णय भए पनि विना निर्णय साबुन उद्योगको निर्माण कार्य शुरु गरेको पनि प्रवक्ता भट्टराईले बताए।

यस्तै, विपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखेर श्रम संस्कृति पार्क नामकरण गरेको, सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरू प्रयोग गरी गाली गलौच गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मासम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीहरूलाई हप्कीदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेको पनि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले दाबी गरेका छन्।

गत असोज १३ गतेको बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बोल्दै गर्दा मेयर साम्पाङले रोक्दै बस्न आग्रह गरेका थिए। तर, देवानले आफू नबस्ने र आफ्नो कुरा राख्न पाउने भन्दै अडान लिएपछि मेयर साम्पाङले नबस्ने भए बाहिर जानु भनेका थिए। उनको यही अभिव्यक्तिले त्यसयता ३ पटक बोलाइएको बैठक बस्न सकेको छैन। वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले माफी माग्नुपर्ने माग गरिरहेका छन् भने मेयर साम्पाङ माफी नमाग्ने अडानमा छन्। स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङ र राजनीतिक दलहरुबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्वन्द्वले कार्यपालिका बैठक बस्न सकेको छैन। बैठक नहुँदा महत्त्वपूर्ण निर्णयहरू रोकिएको छ भने उपमहानगरपालिका अनिर्णयको बन्दी बनेको छ।

दुवै पक्षको हठले प्रत्येक महिना कम्तीमा एउटा बैठक बस्नुपर्ने भएपनि प्रभावित भइरहेको छ। 

सम्बन्धित समाचार : मेयर र कार्यपालिका सदस्यबीचको विवादले उपमहानगर अनिर्णयको बन्दी, कर्मचारीले पाएनन् तलब 

Tags :
प्रतिक्रिया दिनुहोस