न्यायाधीश कार्कीले सम्हाले न्यायपालिकाको बागडोर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायाधीश कार्कीले सम्हाले न्यायपालिकाको बागडोर 


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण मङ्सिर २७ गते रातीदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले न्यायपालिकाको औपचारिक नेतृत्व सुरु गरेका हुन् । 

गत वर्षको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संघीय संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । संघीय संसद्ले समयमै उनको महाभियोगको विषयमा निर्णय गर्न नसकी संसद्को कार्यकाल सकिने दिन साँझ मात्रै संसदीय समितिको बहुमतले अर्को संसद्ले टुङ्ग्याउने गरी उनको निलम्बन जारी रहने निर्णय गरेको थियो । 

फागुन १ गते जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । २०७८ फागुन १ गतेदेखि २०७९ असोज १५ गतेसम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की कामु प्रधानन्यायाधीशबाटै अवकाश पाएका थिए । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अनिवार्य अवकाशपछि असोज १६ गतेदेखि हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बनमा परेको कारण कामु प्रधानन्यायाधीश भएर न्यायालयको जिम्मेवारी सम्हाले पनि बुधबारबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उमेर हदका कारण कार्यकाल सकिएको छ । यसअघि अनौपचारिक रूपमा न्यायपालिकाको बागडोर सम्हालेका कार्कीले जबराको कार्यकाल सकिएपछि औपचारिक रूपमा न्यायपालिकाको बागडोर सम्हाल्न पुगेका छन् । मङ्सिर २८ गतेबाट औपचारिक रूपमै न्यायपालिकाको बागडोर सम्हाले पनि संसदीय सुनुवाइबाट अनुमोदन नभएसम्म कार्कीसमेत कामु प्रधानन्यायाधीश नै रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस