द्वितीय श्रेणीको तलब पाउँने मेयरका भतिजलाई अधिकृत सरहको तलब भत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

द्वितीय श्रेणीको तलब पाउँने मेयरका भतिजलाई अधिकृत सरहको तलब भत्ता


१८ मंसिर २०७९, आइतबार


पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ ।

मेयरका स्वकीय सचिव रहेका खेमराजले द्वितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले विगत चार महिनादेखि छैटौँ अर्थात् अधिकृतसरहको सेवा सुविधा दिएको पोखरा महानगरपालिकाका एक कर्मचारीले बताए ।

पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं. ५८९ को पत्रअनुसार खेमराज आचार्यलाई छैटौँ तह प्रदान गरी सेवा सुविधा प्रदान गरिएको छ । तर, गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भएअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुखले राख्न पाउने स्वकीय सचिव द्वितीय वा सोसरहको हुनेछ भनी उल्लेख छ ।

उता स्थानीय सरकार सञ्चालन ऐनले पनि कर्मचारीको तलबको बारेमा स्थानीय सेवाका कर्मचारीको तलब स्केल प्रदेश सरकारले तोकेबमोजिम हुनेछ र त्यसरी प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनी स्पष्ट उल्लेख गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्रमा भनिएको छ– ‘प्रस्तुत विषयमा तपाईँलाई (खेमराज आचार्य) यसै साथ संलग्न सेवा करार सम्झौतामा रहेका सेवा सर्त लागु हुने गरी २०७९ श्रावण ०१ गते देखि २०७९ पौष मसान्तसम्मका लागि सेवा करार गरिएको छ । तोकिएको कार्य सर्तअनुरूप आफ्नो महाशाखा/शाखा प्रमुखको निर्देशनमा रही निजले दिएको कार्य विवरणबमोजिम वा तोकिएको काम इमानदारीपूर्वक र व्यावसायिक मूल्य मान्यताबमोजिम गर्नुहोला ।’

उक्त पत्रको बोधार्थमा वित्त व्यवस्थापन महाशाखालाई तलब भत्ता उपलब्ध गराउने भनी निर्देशनसमेत दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस