राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान आज बुधवारदेखि सुरु भएको छ । मन्थली नगरपालिकाका १४ वटै वडामा एकसाथ अभियान सुरु गरिएको छ । 

परिचयपत्र बनाउन केन्द्रमा खटिएर आएका कर्मचारीको टोलीले १४ वटा वडामा पुगी अभियान एकसाथ सुरु गरेका हुन् । उनीहरूले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका काम सुरु गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गर्ने गरिएको थियो ।  

जिल्लामा अहिलेसम्म २१ हजार पाँच सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने र व्यक्तिगत विवरण फाराम भरेका छन् । विवरण भरेका सबै नागरिकको परिचयपत्र अहिलेसम्म जिल्लामा आई नसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए  । जिल्लाको आठ वटा पालिकाका ६४ वडामा झन्डै तीन महिनामा विवरण भरिसक्ने लक्ष्य जिल्ला प्रशासन कार्यालय रामेछापले लिएको छ । 

यो अभियान जिल्ला प्रशासन कार्यालयमा पनि चल्ने छ । वडास्तरमा राष्ट्रिय परिचय पत्र बनाउने टोली पुगेसँगै परिचयपत्रका लागि फाराम भर्ने नागरिकको भिड लागेको छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले पालिकाका जनप्रतिनिधिलाई राष्ट्रिय परिचयपत्र बनाउन आएका टोलीलाई सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या झन्डै दुई लाख पुग्न सक्ने अनुमान गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस