सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर देउवाले दिए ‘धन्यवाद’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर देउवाले दिए ‘धन्यवाद’


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आइजिपी राजु अर्याललाई बालुवाटारमा बोलाए धन्यवाद दिएका छन् । 

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरूलाई धन्यवाद दिएका हुन्।

मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे दुवै आइजिपीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । निर्वाचनको दिन झडप र कुटपिटबाट बाजुरामा दुईजनाले ज्यान गुमाएका थिए ।

बाजुराको त्रिवेणी नगरपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको थियो । निर्वाचन सम्पन्न भएको साँझ कुटपिटबाट ज्यान गुमाएका ऐडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले आइजिपी सिंहलाई निर्देशन दिएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चेतन त्रिवेणी नगरपालिका वडा नम्बर˗७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतना एमालेको तर्फबाट मतदान प्रतिनिधि खटिएका थिए । निर्वाचनकै दिन झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस