दोलखामा पुनः मतदान गराउने आयोगको तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दोलखामा पुनः मतदान गराउने आयोगको तयारी


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ ।

पाँच मतदानस्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेका थिए ।आयोगले ६ मंसिरमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली दोलखा पठाएर पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको छ । कति मतदानस्थलमा फेरि मतदान गराउने भन्ने जाँचबुझ टोलीले प्रतिवेदन बुझाएपछि तय हुने एक आयुक्तले जानकारी दिए ।

शुक्रबार काठमाडौँ फर्किएको जाँचबुझ टोलीले प्रतिवेदन लेखनको काम थालिसकेको छ । ‘निर्वाचन अधिकृतबाटै वस्तुस्थितिसहित पुनः मतदान गर्नुपर्ने राय आएको छ । आयोगले स्थलगत रूपमा तथ्य-प्रमाण बुझेर आएको छ । तीन-चार ठाउँमा पुनः मतदान हुन सक्छ । प्रतिवेदन बुझाएपछि आयोगले निर्णय गर्छ,’ उनले भने ।

दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले एउटा स्थलमा प्रतिनिधिसभाको मतपत्र प्राविधिक त्रुटिले प्रदेश सभाको मतपेटिकामा परेको र अर्को स्थलमा बाक्सा फुटेको देखिएको भन्दै आयोगमा वस्तुस्थिति रिपोर्टिङ गरेका थिए । दलहरूबाट पुनः मतदानको माग भएपछि आयोगको निर्देशनमा मतगणना रोकिएको उनले बताएका थिए ।

एमालेले दोलखाको वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थ पोस्ट तामाकोसीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपल बोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जफे प्रावि मेलुङको चार मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दोलखाबाट जाँचबुझ टोली फर्किएको र प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस