बैतडीमा ५२ प्रतिशत मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा ५२ प्रतिशत मतदान


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीका ५२.२२ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको हो ।

बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेको छ ।

जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जनाइएको छ । मतपेटिका ढुवानीको काम जारी रहेको छ । मतपेटिका ढुवानी सम्पन्न सोमबार दिउँसोसम्ममा सकिने र त्यसपछि सर्वदलीय बैठक बोलाएर मतगणनाको समय तोकिने जनाइएको छ ।

जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा समस्या भएको हो । सिगासका केही मतदान केन्द्रका मतपेटिका ५ घण्टा बोकेर डडेल्धुरा र बझाङको बाटो भएर त्यसपछि गाडीमा ल्याउनुपर्ने भएकोले ढुवानी गर्न समय लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणनास्थल तोकिएको छ । मतगणना स्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा दुई जना किरियापुत्री, पाँच कैदीबन्दी र एक जना ११३ वर्षीया वृद्धवृृद्धा पनि मतदानमा सहभागी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस