देउवाको गृहजिल्लामा मतगणनास्थलमा सीसीटीभी क्यामेरा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

देउवाको गृहजिल्लामा मतगणनास्थलमा सीसीटीभी क्यामेरा


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि डडेलधुरामा सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार (भोलि) देशभर एकै दिन आम निर्वाचन हुँदै छ ।

डडेलधुरा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । यहाँ १०१ मतदानस्थलमा १३९ मतदान केन्द्र तयार पारिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा बुथ निर्माणलगायत सबै तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतलाई मतगणनास्थलका रूपमा तोकिएको उनले बताए । 

निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार अहिले ‘मोबाइल टिम’ पनि परिचालन गरिएको छ । ‘रिजर्भ टिम’ तयार पारिएको छ ।

१०१ मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् । एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ सुरक्षाकर्मी र आठ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि देउवासहित आठ उम्मेदवार प्रतिस्पर्धामा छन् । दुई प्रदेशसभा क्षेत्रबाट १२ उम्मेदवार चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस