यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण 


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल वायु सेवा निगमले विमानको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । 

यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई भोलि शनिवारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले आज शुक्रवार निगमलाई निर्देशन दिएको हो । 

निगमको हिजो बिहीवारको दुई वटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण विमानस्थलमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई विमानमा सिट नभएको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।

‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए-२३९ को काठमाडौँदेखि दोहा र उडान नम्बर आरए २२९ को काठमाडौँ-दुबई जाने हवाईजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ’, प्राधिकरणले निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ । 

अबदेखि यस किसिमको कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस