अमेरिकामा चीनको प्रहरी चौकी, एफबीआईले अनुसन्धान गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकामा चीनको प्रहरी चौकी, एफबीआईले अनुसन्धान गर्दै


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । अमेरिकाको घरेलु गुप्तचर एजेन्सी एफबीआईले देशभित्र चीनसँग जोडिएका प्रहरी स्टेसनको भएको समाचारप्रति चिन्ता व्यक्त गरेको छ । 

सेप्टेम्बरमा सेफगार्ड डिफेन्डर्स नामक एनजीओले तयार पारेको रिपोर्टमा चीनले विश्वभर अवैध प्रहरी स्टेसनहरू खोलेको बताएको थियो । र त्यस्ता प्रहरी स्टेसनहरू न्यूयोर्कमा पनि रहेको बताइएको थियो ।

एफबीआईका निर्देशक क्रिस्टोफर ब्रेले अमेरिकी सिनेटको समितिलाई एफबीआईले यस प्रतिवेदनमा मूल्याङ्कन गरिरहेको बताएका छन् । 

उनले चीनले यस्तो गरेको पाइएमा त्यो अमेरिकी सार्वभौमसत्ताको उल्लङ्घन मात्र नभई अमेरिकी न्यायिक प्रणालीप्रतिको बेवास्ता पनि भएको बताए । 

अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटीको सुनुवाइका क्रममा वरिष्ठ गुप्तचर अधिकारी ब्रेले उक्त कुरा बताएका हुन् । यस क्रममा धेरै वरिष्ठ सांसदले उनलाई विभिन्न प्रश्न सोधेका थिए ।

​यस्तै स्पेनस्थित एनजीओ सेफगार्ड डिफेन्डर्सका अनुसार चीनको सार्वजनिक सुरक्षा ब्युरोले विदेशमा प्रहरी सेवा स्टेसन स्थापना गर्ने गरेको छ । यस्ता स्टेसन धेरै देशमा फैलिएको सो एनजीओको रिपोर्टमा उल्लेख छ । पहिचान भएकामध्ये दुई बेलायतको लन्डन तथा ग्लासगोमा र अन्य टोरन्टो र न्यूयोर्कमा रहेको रिपोर्टमा उल्लेख छ ।

विदेशमा रहेका यी प्रहरी चौकीहरू अन्तर्राष्ट्रिय अपराध रोक्न र विदेशमा रहेका चिनियाँ नागरिकहरूलाई प्रशासनिक सेवा उपलब्ध गराउन प्रयोग गरिने गरेको सेफगार्ड डिफेन्डर्सको रिपोर्टमा उल्लेख छ । तिनले मुख्यतः चालक अनुमतिपत्र जारी गर्ने भनिए पनि सेफगार्ड डिफेन्डर्सका अनुसार ती चौकी विदेशमा रहेर चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गर्नेविरुद्ध लक्षित छ । 

चीनले भने विदेशमा आफ्नो कुनै प्रहरी चौकी नभएको बताउँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस