देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा, ‘मोबाइल टिम’समेत परिचालन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा, ‘मोबाइल टिम’समेत परिचालन


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचनलक्षित सुरक्षाका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि दुईहजार बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार निर्वाचनका लागि ‘मोबाइल टिम’ पनि परिचालन गरिएको छ । साथै ‘रिजर्भ टिम’ तयार पारिएको छ ।

डडेल्धुरामा १०१ मतदानस्थल छन् । ती स्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री र सुरक्षाकर्मीसहितका कर्मचारी पुगिसकेका छन् ।

कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ । बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी पूरा हुने उनले बताए।

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै, दुई प्रदेशसभातर्फ १२ जना उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस