प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत पुर्‍याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भनी प्रशंसा गरे।

सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुनशमसेर जबराको उपस्थिति रहेको थियो । उनीहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस