बढाइयो नेपालगन्ज म्याराथनको पुरस्कार राशि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बढाइयो नेपालगन्ज म्याराथनको पुरस्कार राशि


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपालको शीर्ष म्याराथन प्रतियोगितामध्येको नेपालगन्ज म्याराथनको आसन्न संस्करणका लागि पुरस्कार रकममा वृद्धि गरेको छ ।

आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जनाएको छ । अघिल्लो संस्करणका विजेताले १ लाख १० हजार पुरस्कार पाएका थिए ।

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एण्ड डिस्टेन्स रेसस (एम्स)ले मान्यता दिएको आधिकारिक रुटमा आयोजना हुन लागेको नेपालगन्ज म्याराथन एम्सको वार्षिक क्यालेण्डरमा उल्लेख भएको नेपालको एकमात्र म्याराथन प्रतियोगिता हो ।

म्याराथनको आठौँ संस्करण मंसिर २४ गते आयोजना हुँदैछ । हरेक वर्ष मंसिर पहिलो साताको शनिबार आयोजना हुने म्याराथन यसपल्ट चुनावका कारण सारिएको हो ।

नेपालगन्ज म्याराथनमा शीर्ष ८ धावकले नगद पुरस्कार पाउँदै आएका छन् । उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँचौँदेखि आठौंस्थानमा आउनेले क्रमशः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महिला हाफ म्याराथनमा पनि पुरस्कार बढाएर विजेताका लागि ६० हजार बनाइएको छ । यसअघि विजेताले ५५ हजार पाएका थिए । महिला हाफम म्याराथनमा उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउँछन् । पाँचौँदेखि आठौँ स्थानसम्म आउनेले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । महिला ५ किमी खुलातर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । ह्वीलचेयर रेसतर्फ शीर्ष तीन जनालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ८५ हजार रुपैयाँ छ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरुरसमापन गेट रहने आठौँ धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बिपी चोकस्थित उपमहानगर कार्यालय अगाडि पुगेर सम्पन्न हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस