निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । 

निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । 

उनका अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरी सामग्रीसहित आज मतदान केन्द्रतर्फ पठाइएको हो । जिल्लाका २९ मतदान केन्द्रमा ५८ मतदान र सहायक मतदान अधिकृत खटाइएको शर्माले बताए । निर्वाचनमा खटिएका अधिकृतसहित कर्मचारीले स्वतन्त्र र निष्पक्ष भएर जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सुरक्षा अवस्था बलियो बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी भई मताधिकार उपयोग गर्न आग्रह गरे । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताए ।  

निर्वाचनका लागि मनाङमा दुई सय कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरी खटाइएको छ । एउटा मात्रै प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको यस जिल्लामा ६ हजार सात सय ७९ मतदाता छन् । 

चार वटा गाउँपालिका रहेको जिल्लामा  एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र रहेका छन् भने प्रदेशसभा १ मा दुई हजार छ सय २४ र प्रदेशसभा २ मा चार हजार एक सय ५५ मतदाता छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस