कर्मचारी र वडाध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी र वडाध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्रमुख ध्रुवप्रसाद सिलवाललाई स्पष्टीकरण सोधेको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेकपा (एमाले)का नेता किरण पौडेलको चुनावी प्रचारप्रसारमा सहभागी भएको भन्दै बुधबार सिलवाललाई स्पष्टीकरण सोधिएको हो । उनीविरुद्ध सो सम्बन्धमा उजुरी परेको आयोगले जनाएको छ ।

उनलाई २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

वडाध्यक्ष भट्टलाई स्पष्टीकरण
निर्वाचन आयोगले कञ्चनपुरको वेद कोट नगरपालिका-५ का वडाध्यक्ष चित्रदेव भट्टलाई स्पष्टीकरण सोधेको छ ।

वडाध्यक्ष भट्टलाई लेखिएको स्पष्टीकरण पत्र भनिएको छ, ‘तपाईँले वेद कोट नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार तथा कार्यक्रममा सहभागी भएको भनी आयोगमा उजुरी प्राप्त भई यो पत्र लेखिएको छ । प्रस्तुत सन्दर्भमा देहायका विषयमा स्पष्ट गरी यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा, कानुनबमोजिम कारबाही हुने ब्यहोरा जानकारी गराइएको छ ।’

शिक्षक बस्नेतलाई स्पष्टीकरण
निर्वाचन आयोगले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-७ स्थित हिमगंगा माध्यमिक विद्यालयका शिक्षक रामकुमार बस्नेतलाई स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले)को प्रचारप्रसारमा हिँडेको र आफ्नो फेसबुक पेजमार्फत समेत उक्त दलको पक्षमा मत मागेको भनी उजुरी परेकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस