बैतडीमा १६८४ जना कर्मचारी मतदान केन्द्रमा खटाइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैतडीमा १६८४ जना कर्मचारी मतदान केन्द्रमा खटाइने


३० कार्तिक २०७९, बुधबार


बैतडी । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ ।

बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो ।

निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ ।

जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडा राखिने थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको थियो ।

मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसकेको अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी फुँयालले भने, ‘टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ४० जनालाई आज मतपत्र र निर्वाचनसामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ । मङ्सिर १ गते साँझसम्म मतदान स्थलमा निर्वाचन सामग्री पुगिसक्छ । ’

बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिएको छ ।

निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाइएको छ । बैतडीमा एक सय २९ मतदान स्थलमा दुई सय १० मतदान केन्द्र रहेका छन् ।

यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेशसभाका दुई सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस