मानमर्दन भएको भन्दै निर्वाचन खटिन अस्वीकार गर्दै शिक्षकहरू  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मानमर्दन भएको भन्दै निर्वाचन खटिन अस्वीकार गर्दै शिक्षकहरू 


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आफ्नो मानमर्दन हुने गरी निर्वाचनमा खटाइएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । देशभरका विभिन्न जिल्लामा शिक्षकहरूले आफ्नो श्रेणीगत मर्यादाक्रमको बेवास्ता गर्दै निर्वाचनमा खटाइएको भन्दै असन्तुष्टि जनाएका  हुन् ।

कतिपय जिल्लामा शिक्षकहरूले राजीनामा नै दिएका छन् भने कतिपय क्षेत्रका शिक्षकहरूले मर्यादाक्रम अनुसार उपयुक्त जिम्मेवारी दिन भन्दै मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण नै गराएका छन् । आयोगले निजामती सेवाका कर्मचारीहरू नासु वा सो सरहका कर्मचारीलाई मतदान अधिकृत र खरदार वा सो सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको रूपमा खटाएको छ । शिक्षकहरूलाई भने सहायक कर्मचारीको रूपमा जिम्मेवारी दिएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यालयबाट शिक्षकहरूको मानमर्दनमा आँच आउने काम भएको भन्दै दोलखाका ६ जना शिक्षकहरूले सहायक कर्मचारीको जिम्मेवारी नसम्हाल्ने बताएका छन् । प्रावि द्वितीय र निमावि तृतीय श्रेणीका ती शिक्षकहरूले सहायक मतदान अधिकृतको जिम्मेवारी दिन अनुरोध गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्राथमिक तहका प्रथम र द्वितीय, निमावि तहका प्रथम, द्वितीय र तृतीय तहका शिक्षकहरूलाई निर्वाचनमा सहायक कर्मचारीका रूपमा खटाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । सहायक कर्मचारीको रूपमा काम गर्न नसक्ने बताउँदै उनीहरूले मानमर्दन हुने गरी मर्यादाक्रम अनुसार उपयुक्त हुने जिम्मेवारी दिएमा निर्वाचनमा खट्ने प्रतिबद्धता जाहेर गरेका छन् । 

त्यस्तै कैलालीका शिक्षकहरूले समेत श्रेणी अनुसार उपयुक्त जिम्मेवारी दिन माग गरेका छन् ।  यसरी श्रेणी अनुसार पद नदिएको प्रति नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ । नेपाल शिक्षक महासङ्घ नगर कार्यसमिति झापाले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समयमै नियुक्ति प्रक्रिया संशोधन गरी उचित व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ । महासङ्घको केन्द्रीय कार्यालयले समेत नियुक्ति प्रक्रियालाई लिएर आपत्ति जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस