निर्वाचन आचारसंहिता उल्लङ्घनका १५ उजुरी, के भन्छन् निर्वाचन अधिकृत ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आचारसंहिता उल्लङ्घनका १५ उजुरी, के भन्छन् निर्वाचन अधिकृत ?


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । मोरङमा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका १५ वटा उजुरी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

विराटनगरमा सोमबार आयोजित निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँगको छलफलका क्रममा कार्यालयका प्रमुख एवं प्रदेश निर्वाचन अधिकृत लेवन कश्यप अधिकारीले हालसम्म आचारसंहिता उल्लङ्घनका १५ वटा लिखित र मौखिक उजुरी प्राप्त भएको जानकारी दिए।

अधिकृत अधिकारीका अनुसार जिल्लाका लागि आवश्यक मतपत्र प्राप्त भइसकेको छ।

निर्वाचन आचारसंहिता पालना गर्न, गराउनका लागि राजनीतिक दलले सहयोग गर्नुपर्नेमा जोड दिएका अधिकृत अधिकारीले आचारसंहिता उल्लङ्घन भए कारबाही प्रक्रिया अघि बढाइने प्रस्ट्याए।

उनले निर्वाचन अभियानका क्रममा सवारीसाधनमा ठुल्ठूला ध्वनिसहितका माइक जडान गरी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे।

त्यसैगरी, राजनीतिक दलले आमसभा, रैली, कोणसभालगायत बृहत् कार्यक्रम गर्नुपूर्व स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

निर्वाचन अभियानका क्रममा दुई चक्के मोटरसाइकल रैली, फ्लेक्स प्रिन्टको प्रयोग र अनुमति नलिएका सवारीसाधनमा झण्डाको प्रयोगसमेत गर्न नपाइने अधिकृत अधिकारीले जानकारी गराएका थिए। कार्यक्रममा उनले मतदाता शिक्षाअन्तर्गत हरेक वडामा एकजना महिला स्वयंसेविकाले समुदायस्तरमा प्रशिक्षण दिइरहेको उल्लेख गरे।

निर्वाचनमा प्रचार प्रसारका क्रममा ठूला आमसभा गर्न लाग्ने खर्च विवरण निर्वाचन सकिएको १५ दिनभित्र निर्वाचन आयोगमा खर्च पेस गर्नुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस