देउवा र प्रचण्डले बैतडीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

देउवा र प्रचण्डले बैतडीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बैतडीको संयुक्त चुनावी आम सभालाई सम्बोधन गर्ने भएका छन् । 

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै देउवा र प्रचण्डले यही कार्त्तिक २३ गते पाटनमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

‘बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट, प्रतिगमनलाई चोट’ भन्ने मूल नाराका साथ बाम लोकतान्त्रिक गठबन्धनले पाटनमा दिउसो २ बजे सभाको आयोजना गरिएको माओवादीका पाटन नगर ईन्चार्ज तथा वडा नम्बर ८ का वडाध्यक्ष हरिस विष्टले बताए । 

देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन्। गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्ड भने आफ्नै चुनावी अभियान तथा  विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभामा व्यस्त छन् । 

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका छन्।

देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए। 

बैतडीबाट प्रतिनिधि सभाका लागी माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजयसुन्दर” उम्मेदवार छन्

इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रदेशसभामा दुइओटा क्षेत्र रहेको बैतडीमा प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र शिव राज भट्ट उम्मेदवार छन् ।

काँग्रेस जिल्ला उपसभापति एवं सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष वीर बहादुर विष्टले प्रदेशसभा क्षेत्र ‘क’ र काँग्रेस बैतडी पूर्व पार्टी सभापति शिव राज भट्ट प्रदेश सभा क्षेत्र ‘ख’ बाट चुनाव मैदानमा छन् । 

बैतडीमा गठबन्धन साझा उम्मेदवारका साथ चुनावी मैदानमा उत्रिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस