अघिल्लो निर्वाचनमा भन्दा अहिले राम्रो प्रतिक्रिया पाएको छु : सिंह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अघिल्लो निर्वाचनमा भन्दा अहिले राम्रो प्रतिक्रिया पाएको छु : सिंह


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन्।

शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आम मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताएका हुन्।

उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरूले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरू सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए।

काठमाडौँ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘मैले यस वर्ष विगतको निर्वाचनको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु। योभन्दा अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु। यो क्षेत्रको समस्या भनेको पानीको छ। सङ्घीयता जारी गर्नुभयो तर सङ्घीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौँ, यो कारणले विभिन्न सेवा सुविधाहरूमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो। व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ। दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, काँग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौँ तर कार्यान्वयन गर्ने बेलामा काँग्रेसले नेतृत्व पाएन। अब हामी कार्यान्वयनमा जाने हो। तीन तहको सरकारलाई संविधानको मर्मअनुसार जे अधिकार दिलाउनुपर्ने हो, कानुन बनाएर हामी दिलाउनेछौँ। ५ दलको गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि हो। हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ । जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ। संविधानको रक्षा भएपछि स्थिरता आउँछ स्थिरता भए पनि देशको विकास निर्माणको कार्यले गति लिन्छ र हरेक नेपालीको जीविकोपार्जन सहज हुन्छ।’

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गरे।

देशमा राजनीतिक स्थिरता कायम गरी हरेक नेपालीको जीविकोपार्जन सहज बनाउन जरुरी रहेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस