गठबन्धनले दुई तिहाइ सिट जित्छ : वर्षमान पुन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनले दुई तिहाइ सिट जित्छ : वर्षमान पुन


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन्। रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे।

चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तीमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरुले यो देखाएको छ । हामी दुई तिहाइ संघमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’

गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तीनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता उनले जनाए।

विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए। अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए। गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए।

पुनले भने, ‘केपी ओलीजीको नेतृत्व एकल बहुमत पाउँदा पनि खेर गयो । आगामी दिनमा यसो हुने छैन । हामी आफूमात्र हैन नेपालका सबै राम्रा हात र मस्तिस्कलाई लिएर विकासको काम गर्नेछौँ । हामी निर्वचन पछि राष्ट्र निर्माणको पक्षका जनमतालाई लिएर अघि बढ्छौँ । ओलीजीलाई पाँच वर्ष काम गर्न जनताले जनमत दिएका थिए । उहाँ चाहिँ थानकोटतिर हिड्नुभाछ, त्रिपुरेश्वरतिर भेटिएको भुस्याह कुकुरलाई ढुङ्गा हान्न बस्नुभाछ । अली पर गयो एउटा बटुवा छ त्योसँग झगडा गर्न बस्नुभाछ । गन्तव्य एकातिर छ गर्ने अर्को छ । हामी जे गन्तव्य हो त्यो गछौँ ।’

विपक्षी नेकपा एमाले को गठबन्धन प्रतिगामी भएको पुनको भनाइ छ । विगतका निरङ्कुस शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ । गणतन्त्र र लोकतन्त्रका लागि लडेका एमालेका कार्यकर्ता पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाइ छ । पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे।

सम्बोधनमा उनले छिमेक सम्बन्धलाई सन्तुलनका आधारमा अघि बढाइने बताए। प्रो–नेपाली भएर राष्ट्रिय हितका पक्षमा काम गर्ने उनको भनाइ छ । विकास आयोजना र सहायत लिए पनि कुनै पनि देशको सैन्य गठबन्धनलगायतमा सहभागी नहुने उनको भनाइ छ ।

राजनीतिक आवश्यकताका आधार वर्तमान गठबन्धन बनेको नेता पुनले बताए । संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको र गत चुनावमा परीक्षण समेत भइसकेकाले एक अर्को दललाई मत दिन हिककिचाउनु नपर्ने कार्यकर्तालाई उनको आग्रह थियो ।

नेता पुनले अहिलेको प्रमुख मुद्दा स्थायित्व भएको बताउनुभयो । विगतका पश्चिमा देशहरुको आर्थिक उन्नति र स्थायित्वको चर्चा भए पनि अब एसियाली देशहरु अगाडि बढेको उनको भनाइ छ । गठबन्धनको नेतृत्वमा अब मुलुकको स्थायित्व हुने जिकिर पुनको छ ।

नेता पुनले भने ‘हाम्रो मुख्य एजेन्डा स्थायी शान्ति हो । घरमा शान्ति भयो भने घरको भविष्य राम्रो हुन्छ । नयाँनयाँ प्रयोगमा जाँदा विकास हुँदैन । यो संसदको अघिल्लो कार्यकाल शान्ति र विकासका लागि अनुकूल थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीका कारणले त्यो सम्भव भएन । नेपाली जनताले विश्वास गरेर जनमत दिएकै हो । अब हामी शेरबहादुर देउवाको नेतृत्वमा प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको नेतृत्वमा स्थायित्व र विकास हासिल गर्न चाहन्छौं । पाँच वर्ष कम्तीमा हामी यो गठबन्धन कायम गर्न चाहन्छौं । सुशासन कायम गर्न चाहन्छौं । यो हाम्रो प्रतिबद्धता हो ।’

सुशासन कायम गर्नु वर्तमान गठबन्धनको मुख्य उद्देश्य भएको पनि पुनले बताए। नागरिकमैत्री सार्वजनिक प्रशासनमा उनले जोड दिए। मुलुकमा पटक पटक राजनीतिक क्रान्ति भएको भन्दै उनले अब आर्थिक र सामाजिक रुपान्तरणको समय आएको बताए। आर्थिक र सामाजिक रुपान्तरणमा दलहरु केही हदसम्म पछि परेको पनि उनको ठम्याइ छ ।

शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई संविधानले नागरिकको आधारभूत अधिकारका रुपमा ग्यारेन्टी गरेकाले कार्यान्वयन गरिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस