प्रधानमन्त्री कप : पुलिस र एपिएफको जित, बागमती र आर्मी पराजित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कप : पुलिस र एपिएफको जित, बागमती र आर्मी पराजित


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्। 

कप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रेरित पुलिसले समूह ‘बी’ को खेलमा बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। 

पुलिसले दिएको २९० रनको लक्ष्य पछ्याएको पुलिस ९७ रनमै अलआउट भयो। बागमतीका लागि ओपनर ईशान पाण्डेले २५ रन जोडे भने रामनरेश गिरीले नटआउट २२ रन बटुले। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। 

बलिङमा पुलिसमा दीपेन्द्रले ३ विकेट लिए भने करण केसी, गुल्शन झा र सागर ढकालले २-२ विकेट हात पारे। 

त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रले १०८ रन जोडे। उनले ८२ बलमा ११ चौका र ४ छक्का हिर्काए। पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले ३७-३७ रन तथा आरिफ शेखले ३६ रनको योगदान दिए।

दीपेन्द्रको शतक प्रेरित पुलिसले ५ विकेटको क्षतिमा २८९ रन जोडेको थियो।

यता कीर्तिपुर मैदानमा समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबलाई एपिएफले ५६ रनले हरायो। 

एपिएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी १६३ रनमै अलआउट भयो। आर्मीका लागि हरि चौहानले ६५ रन र रोहित पौडेलले ५१ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन जोड्न नपाई आउट भए। 

बलिङमा एपिएफका अमरसिंह रटेउलाले ४ विकेट लिए। कमलसिंह ऐरीले ३ विकेट र किशोर महतोले २ विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ ४७.४ ओभरमा २१९ रनमा अलआउट भयो। 

एपिएफका लागि प्रदीप ऐरीले ७१ रन र सन्दीप जोराले ५० रनको योगदान दिएका छन्। बलिङमा आर्मीका विक्रम शोवले चार विकेट लिँदा साहब अलाम र कुशल मल्लले २-२ विकेट हात पारे। 

Tags :
प्रतिक्रिया दिनुहोस