कर्णाली तर्न अझै डुङ्गाकै भर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली तर्न अझै डुङ्गाकै भर


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । अधिकांश टीकापुर बासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ ।

सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौँदेखि दुवै ठाउँका स्थानीय जोखिमपूर्ण डुङ्गाबाट वारपार गर्दै आएका हुन् ।

हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लँदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् ।

कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौँ गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुङ्गाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुवै प्रदेश र दुवै जिल्लाको सिमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरूको सम्बन्ध घनिष्ठ छ । टीकापुरका सयौँ बासिन्दाको खेत राजापुरमा छ भने राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो ।

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेती लगाउनसम्म दिनमै तीन-चार पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ ।’ नदीमा सञ्चालन हुँदै आएका डुङा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन् ।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो । टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन् । दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुङ्गाबाटै टीकापुर भित्र्याउँछन् । कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना समेत हुने गरेको छ ।

स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुलको माग गर्दै आएका छन् । उनीहरूले सङ्घर्ष समिति समेत गठन गरेका थिए । समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाए पनि सम्बोधन हुन नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस