एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु हुँदै, एकैदिन ३ जिल्लामा आमसभा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु हुँदै, एकैदिन ३ जिल्लामा आमसभा


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलङ्गामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नेछन् ।

ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । अहिले यहाँबाटै अभियान सुरु गरिनुलाई आफ्नो सरकारको पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको मुद्दालाई एमालेले यो चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएको छ ।

प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गर्छन् ।

उनका अनुसार १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस