प्रहरीका १४६ जना इन्स्पेक्टर ‘पास आउट’, इन्स्पेक्टर लिम्बु प्रथम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीका १४६ जना इन्स्पेक्टर ‘पास आउट’, इन्स्पेक्टर लिम्बु प्रथम


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीमा तालिमरत १ सय ४६ जना इन्स्पेक्टर आधारभूत तालिम सकेर दीक्षित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले दीक्षान्त समारोह आयोजना गरेर उनीहरूलाई दीक्षित गरेको छ । आइतबार पास आउट भएका निरीक्षकहरू १ सय ८१ औँ समूहका हुन् ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले शान्तिसुरक्षा निर्वाचनको पहिलो सर्त भएको बताए । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा सफलता हासिल गर्न मन्त्री खाणले सकल दर्जालाई शुभकामना दिए । 

आइजिपी धीरजप्रताप सिंहले १७ महिनाभन्दा लामो समय तालिम गरेर पास आउट भएका निरीक्षकहरूलाई मंसिर ४ मा हुने निर्वाचनमा खटिएर सुरक्षा चुस्त बनाउन निर्देशन दिए । १८१ औँ समूहबाट इन्स्पेक्टर कैलाश लिम्बु प्रथम भएका छन् ।

विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई गृहमन्त्री बालकृष्ण खाणले पुरस्कार प्रदान गरेका छन् । निरीक्षक आदर्श गिरी दोस्रो र आशिष पोखरेल तृतीय भएका छन् । अभय लामा कवाज प्रथम भए । दीक्षान्त समारोह स्थलमा शारीरिक समस्याका कारण दुईपटक ढलेका अभयले समारोह अवधिभर मार्चपास कमाण्ड गरेका थिए । 

२०११ मा ललितपुरको श्रीमलबाट प्रहरीले तालिम लिन शुरु गरेको थियो । महाराजगञ्ज स्थित राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानबाट अहिलेसम्म ५९ हजार २४० जनालाई दीक्षित गरिएको एकेडेमीका कार्यकारी निर्देशक सहकुलबहादुर थापाले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस