गठबन्धनलाई ओलीको आरोप- सत्ताका लागि देशपनि बेच्छन् « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गठबन्धनलाई ओलीको आरोप- सत्ताका लागि देशपनि बेच्छन्


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन् । सत्ताका लागि अंश-अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको उनको भनाई छ ।

‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने ?,’ तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश-अंश गरेर देश बेच्छन् ।’

हिस्सा, अंश, हित र स्वाभिमान अंश-अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए । उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश-अंश गरेर बेच्छन् ।’

यस्तै अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको दाबी गरे ।

‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन् । पैसाको खोलो बगाएका छन्,’ उनले भने,‘राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन् । देशलाई भिडन्ततर्फ लाने ।’

देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको पनि अध्यक्ष ओलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस