नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । नयाँ बानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको योजनामा फुटपाथ व्यवसायीलाई हटाउन मुख्य भूमिका खेलेका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले फुटपाथमा एक लाइन पार्किङ गर्न दिइनुपर्ने माग गरेका हुन् ।

बानेश्वरमा व्यवसायीहरुले नै अभियान चलाएर फुटपाथ खाली गराएका थिए । तर, पार्किङको पर्याप्त स्पेस नभएका कारण बानेश्वर क्षेत्रका पसलहरुमा व्यापार प्रभावित भएको छ ।

फुटपाथ व्यापारीसँग सामान किन्न बानेश्वर आउनेहरु अन्यत्र जान थालेकाले चहलपहल घट्दा बानेश्वरको सटरभित्र हुने पनि व्यापार घटेको व्यवसायीहरुको गुनासो छ ।

नयाँबानेश्वरमा पार्किङको समस्या समाधान गर्न अन्य प्रयोजनमा रहेका भूमिगत पार्किङहरु खाली गरिए पनि ती व्यवसायिक रुपमा सञ्चालनमा आएका छैनन् । बानेश्वर प्लाजामा पार्किङको सुविधा त दिइएको छ । उपभोक्ताले महँगो शुल्क तिर्नु परेको छ भने यसरी पार्किङ गरेर किनमेल गर्न आउनेहरु सीमित मात्रै छन् ।

यसकै कारण व्यापार प्रभावित भएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले काठमाडौँ महानगरपालिकासँग पार्किङको समुचित प्रबन्ध नभइन्जेल एक लाइन पार्किङ गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । संघकै अगुवाइमा बानेश्वर क्षेत्रमा फुटपाथ हटाउने र व्यवस्थापन गर्ने काम भएको हो ।

संघका अध्यक्ष नवीन लुइँटेल पसल अगाडि पार्किङ गरेर सामान खरिद गर्न पसलमा छिर्दा पनि चिट काट्ने वा बाइक उठाउने काम भइरहेको बताउँछन् । पार्किङको सजिलो व्यवस्था नहुँदासम्म एक लाइन व्यवस्थित बाइक पार्किङ गर्नु उपयुक्त देखिएको उनले बताए ।

लुइँटेलका अनुसार स्थायी रुपमा बेसमेन्टमा पार्किङका पूर्वाधार बनिरहेका छन् । ती निर्माण र सञ्चालन नभइन्जेल एक साइडमा पार्किङ गर्न दिन व्यवसायीहरुको माग छ ।

पछिल्ला दिनमा फुटपाथमा नपर्ने गरी पसलहरुको बाहिर राखिएका सामान समेत हटाउन महानगरपालिकाले अभियान चलाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस