नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा सेनालाई दुई स्वर्ण पदक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा सेनालाई दुई स्वर्ण पदक


२९ आश्विन २०७९, शनिबार


कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष साइक्लिङ ‘डाउनहिल विधा’को दुवै स्वर्ण नेपाली सेनाले जितेको छ ।

पोखराको रानीवनमा आज आयोजित प्रतिस्पर्धामा महिलातर्फ सेनाका निष्मा श्रेष्ठले दुई मिनेट २३ दशमलव ५८ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जितिन् । साइक्लिङको डाउनहिलमा सेनाकै उषा खनाल दुई मिनेट ३७ दशमलव ४५ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत पदक प्राप्त गर्दा आयोजक गण्डकी प्रदेशका जमुना थापाले दुई मिनेट ४० दशमलव शुन्य ९ सेकेण्डमा पूरा गर्दै कास्यपदक जितिन् ।

यसैगरी पुरुषतर्फको डाउनहिल प्रतिस्पर्धामा सेनाका राजेश मगरले एक मिनेट ४९ दशमलव १० सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल एपिएफका प्रतिक थापामगरले एक मिनेट ५५ दशमलव ६९ सेकेण्डमा निर्धारित दूरी पार गरी कास्यपदक जितेका छन् ।

नवौँ राष्ट्रिय खेलकुदको प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल भइरहेका छन् । यही असोज २३ गतेदेखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि भएका हुन् । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।

पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास,उसु, आर्चरी मैदानमा आर्चरी, सफ्ट टेनिस रङ्गशालाको टेनिस कोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल भएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।

यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा खेलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस