उजुरी पुष्टि हुने प्रमाण भेटिए उम्मेदवारी स्वतः रद्ध हुन्छ : निर्वाचन आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उजुरी पुष्टि हुने प्रमाण भेटिए उम्मेदवारी स्वतः रद्ध हुन्छ : निर्वाचन आयोग


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीविरुद्ध उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुङ्गो लगाउने स्पष्ट पारेको छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए। 

हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज सोमबार दिउसो ३ बजेसम्म त्यसमाथिको दाबी–विरोध र उजुरीको समय तोकिएको थियो। 

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरूबाट विद्युत् र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरूको डाटा भने आउन बाँकी रहेको जानकारी समेत दिए। 

आयोगले उम्मेदवारीहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतह रद्ध हुने पनि बताएको छ। आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस