बाँकेको अधिकांश स्थानीय तह डुबानमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाँकेको अधिकांश स्थानीय तह डुबानमा


२४ आश्विन २०७९, सोमबार


नेपालगञ्ज । केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन ।

प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

‘विस्थापित भनेका जोखिम देखेर घर छाडनेहरु हुन’ उनले भने । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको उनले बताए। बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१८ र २० का तीन सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् ।

त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

उनले पीडितलाई राहत र उद्धारका लागि पटक पटक अनुरोध गरेको जानकारी दिदै चारदिनदेखि विद्युत समेत नभएको बताए । नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् ।

‘यहाँका सबै स्थान पानीले भरिएको छ ।’उनले भने । जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ ।

वढी र डुवानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस