मतदातालाई सूचनामा सम्पन्न बनाउँदै आयोग, तय गर्दै छ यस्ता कार्यक्रम ! « प्रशासन
Logo १५ मंसिर २०७९, बिहिबार
   

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै आयोग, तय गर्दै छ यस्ता कार्यक्रम !


१८ आश्विन २०७९, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेभसाइट https://election.gov.np/ मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ ।

यहाँ आफ्नो मात्र होइन अरूको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ ।

फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका समयमा पठाउनेछ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आयोगले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण गत भदौ ३१ गते स्वीकृत गरी अन्तिम मतदाता प्रकाशन गरेको थियो । सो अघि मतदाता विवरणमा कुनै त्रुटि सच्याउन र दाबी विरोध भएमा उजुरी दिन समय दिइएको थियो ।

निर्वाचन घोषणा भएपछि निर्वाचन नभएसम्म मतदाता नामावली सङ्कलन कार्य भने स्थगन भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता विवरणमा रहेका सानातिना त्रुटिका कारणले मात्र मतदानको अधिकारबाट कसैलाई पनि वञ्चित हुन नदिने आयोगले प्रयत्न गर्ने बताए ।

आयोगले स्वीकृत गरेको नामावली विवरणअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख अठासी हजार पाँच सय ७० मतदाता हुनेछन् ।

निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने अठासी लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता नामावली कायम भएका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता कायम रहेका थिए ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता सङ्ख्यासमेतका आधारमा कुल १० हजार आठ सय ९१ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्र रहने गरी स्वीकृत गरेको छ ।

आयोगका अनुसार यस निर्वाचनका लागि सबैभन्दा बढी मतदाता रहेका जिल्ला मोरङ ९सात लाख ३५ हजार पाँच सय २५०, झापा ९छ लाख ६३ हजार तीन सय ११० र काठमाडौँ ९छ लाख ५२ हजार एक सय २६० छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ ९छ हजार सात सय ७९०, मुस्ताङ ९१० हजार नौ सय ५७०, र डोल्पा ९२२ हजार सात सय ७४० रहेका छन् ।

यस्तै आयोगले निर्वाचनसँग सम्बन्धित जिज्ञासा र अन्योलबारे मतदाताका प्रश्न भएमा दसैँ लगत्तै पैसा नलाग्ने फोनमा फोन गरेर समाधान गराउनेछ ।

आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत पनि निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयन पत्रका लागि आवश्यक कागजात, निर्वाचन खर्चका हदजस्ता विषयलगायत सूचना प्रवाह गरिरहेको छ ।

सूचनामा सहजीकरणको लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरिक्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले र थप तीन जना ९सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराई० लाई सहायक प्रवक्ता तोकेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् ।

आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।

यसैबिच आयोगले दसैँ बिदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।

असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । 

Tags :
प्रतिक्रिया दिनुहोस