थप उपचारका लागि काठमाडौँ नजाने गोविन्द केसीको अडान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप उपचारका लागि काठमाडौँ नजाने गोविन्द केसीको अडान


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । धनगढीमा अनसनरत डा.गोविन्द केसीले काठमाडौँ नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।

सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको पेटमा कडा खालको अल्सर देखिएको बताएको छ । ९ दिनदेखि भोक हड्तालमा रहेका केसीलाई सेती प्रादेशिक अस्पतालका विज्ञ टोलीले हेर्दै आएका छन् । उनमा धेरै कमजोरी, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । उनको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम, मांसपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

डा।केसीले मुखबाट पानी र नशाबाट रिङगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ नलिने भनी निषेध गरेका छन् । मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शङ्का भएको हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न चिकित्सक सल्लाह छ । सोही आधारमा उनलाई काठमाडौँ रिफर गर्न खोजिएको हो । तर, उनले माग पुरा नभएसम्म धनगढीबाट कतै नजाने अडान लिएका छन् ।

उनको माग सम्बोधनको विषयमा सरकार र केसीको प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा रहेका सुवेदीले कुनै निष्कर्ष ननिक्लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस