कानुन उल्लङ्घन गरी आफू निकट कर्मचारीलाई स्टेसन प्रमुख बनाउन खोजेपछि विवाद « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कानुन उल्लङ्घन गरी आफू निकट कर्मचारीलाई स्टेसन प्रमुख बनाउन खोजेपछि विवाद


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । तालुक मन्त्रालयको निर्देशन लत्त्याउँदै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुन उल्लङ्घन गरेर आफू निकट कर्मचारी, ट्रेड युनियनका नेता र कनिष्ठ कर्मचारीलाई स्टेसन प्रमुख बनाउन खोजेपछि पुन : विवाद सुरु भएको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित निगमको विदेशस्थित स्टेसनमा सरुवा गर्ने विनियम नै उल्लङ्घन गरेको जनाउँदै ८ जना अधिकृतले सरुवा रोकको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमक्ष उजुरी दिएका छन् ।

‘सोमबार र मङ्गलवार गरी दुई दिनसम्म कर्मचारीले मन्त्रालयमा आई मलाई सरुवा रोक्न निवेदन दिएका छन्,’ मन्त्री श्रेष्ठले भने, ‘निगमका कार्यकारी अध्यक्षलाई पर्यटन सचिवले हाललाई सरुवा प्रक्रिया स्थगन गर्न निर्देशन दिनुभएको छ । यस विषयमा मन्त्रालयमा यसअघि पनि उजुरी परेकाले छानबिन प्रक्रिया अझै टुङ्गिएको छैन । मन्त्रालयले यस विषयलाई चाँडै समाधान गर्दै छ ।’

कर्मचारीहरूले उजुरीमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले उडान भर्ने अन्तर्राष्ट्रिय स्टेसनहरूमा निगमका कर्मचारीहरूको सेवा सर्तसम्बन्धी विनियम उल्लङ्घन गरेको आरोप उजुरी पत्रमा उल्लेख गरेका छन् । उनीहरूले तालुक मन्त्रालयलाई ‘विनियममा स्पष्ट आधार हुँदाहुँदै पनि निगमका कार्यकारी अध्यक्षले आफूनिकट कनिष्ठ कर्मचारीलाई विदेशस्थित कार्यालयमा सरुवा गर्ने प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् । तीन तहबाट गर्नुपर्ने मूल्याङ्कन एकल मूल्याङ्कनका आधारमा अघि बढाइएको उजुरीमा उल्लेख गरिएको छ ।

उनीहरूले यस विषयमा यसअघि असार २० गते पनि निगमको मानव संसाधन विभाग, सञ्चालक समितिमा उजुरी दिएको बताउँदै कार्यकारी अध्यक्षले स्पष्टीकरण सोधेको विषयमा निर्णय गर्न नमिल्ने जिकिर गरेका छन् ।

मन्त्रालयमा निवेदन दिनेमध्येका प्रशान्तकुमार विकले निगम व्यवस्थापनले आइतबार कर्मचारी छनोट समितिले छोटो समयमा निकालेको अन्तरवार्ता छनोट भएका वरिष्ठ अधिकृतहरूले बहिस्कार गरिरहेको बताए ।

निगमले अन्तर्वार्ताका लागि दिल्ली, मुम्बई, हङकङ, दोहा, क्वालालमपुर, दुबई, नारिता र रियादका लागि कन्ट्री म्यानेजर, स्टेसन म्यानेजर, लेखा प्रबन्धकका लागि ५१ जनाको नाम प्रकाशित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस