निहारिका प्रकरण : शिवराज श्रेष्ठले दिए डिएनए टेस्टका लागि नमुना  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निहारिका प्रकरण : शिवराज श्रेष्ठले दिए डिएनए टेस्टका लागि नमुना 


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । निहारिका राजपूत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डिएनए टेस्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौँ आई श्रेष्ठले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा डिएनएका लागि रगतको नमुना दिएका हुन् । 

आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखिएको र निहारिकाले नै शिवराजलाई आफ्नो पति भनेको कारण जबरजस्ती करणी होइन भन्ने फैसलामा उल्लेख थियो । 

तर उक्त फैसलालाई चित्त नबुझाएकी निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गएकी थिइन् । उच्च अदालतमा पुनरावेदन दर्ता गरेसँगै निहारिकाले काठमाडौँमा अनसन समेत बसेकी थिइन् । त्यसैको दबाबस्वरुप उच्च सरकारी वकिलले बहसका क्रममा डिएनए टेस्टका माग गरेका थिए । सोही आधारमा अदालतले निहारिकाबाट जायजन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए टेस्ट गराउने आदेश दिएको थियो । यद्यपि जिल्ला अदालतमा मागदाबी लिँदा भने डिएनए टेस्टको माग गरिएको थिएन ।

उच्च अदालतले डिएनए टेस्टका लागि आदेश दिएसँगै श्रेष्ठ आइतबार डिएनए टेस्टका लागि काठमाडौँ आएका हुन् । विधि विज्ञान प्रयोगशालामा निहारिका पनि बच्चासहित पुगेकी थिइन् ।  डिएनए टेस्ट गर्दा बालकसँग मिलेमा श्रेष्ठविरुद्ध जबरजस्ती करणी ठहर हुनुपर्ने निहारिकाले माग गर्दै आएकी छिन् ।

यता श्रेष्ठले भने डिएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रूपमा स्वीकार गर्ने बताइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस