तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा


२४ भाद्र २०७९, शुक्रबार


बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो ।

विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका-९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस