दसैँका लागि नयाँ नोट आजदेखि पठाइयो बजारमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दसैँका लागि नयाँ नोट आजदेखि पठाइयो बजारमा


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

बैङ्कले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा वाणिज्य र विकास बैङ्कहरूबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो ।

पहिलो दिन ८ वटा वाणिज्य बैङ्कहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

यस्तै विकास बैङ्कहरूलाई आजै राष्ट्र बैङ्कले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैङ्क तथा वित्तीय संस्थाहरूलाई यसै गरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले रातोपाटीलाई जानकारी दिए ।

सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहोर्‍याएर साट्न आउनेलाई समेत कुनै रोक तोक नहुने नेपालले बताए ।

बैङ्कमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए ।

सर्वसाधारणले नयाँ नोट सबै बैङ्क तथा वित्तीय संस्थासँगै राष्ट्र बैङ्कका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरूबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैङ्कले ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस